रुपन्देही, १९ भदौं । रुपन्देहीमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बिहान मात्रै तीन जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका संक्रमित रहेका छन् ।

बुटवलमा रहेको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत् सिद्धार्थनगर नगरपालिका–७ कि ६४ वर्षीया महिलाको शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य समस्या देखिएपछि ती महिला भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या थियो । भदौ १६ गते जाँच गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।

यस्तै सिद्धार्थनगर–८ का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । कोरोना संक्रमणसँगै मिर्गौलाको समेत बिरामी रहेका उनको आज (शुक्रबार) बिहान घरमै मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा उपचार गरी भैरहवा आएका उनको बिहान मिर्गौलाको डायलासिस गर्न जाने तयारी गर्दैगर्दा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय बृद्ध पुरुषको पनि शुक्रबार बिहान ९ बजे मृत्यु भएको छ ।

उच्च रक्तचापको समेत समस्या रहेका उनको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here